बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका कस्तो हुन पर्छ ?

बालबालिका जन्माउन मानसिक तथा शारीरिक रूपमा तयार भएर मात्र जन्माउने योजना बनाउनुपर्छ। जस्तो अवस्थाको शिशु जन्मेपनि स्वीकार गर्ने योजना बनाउनुपर्छ।

– बालबालिकालाई सञ्चो, विसञ्चो, खाना खाएको नखाएको, समयअनुसार लुगाफाटा लाएको नलाएको रेखदेख गर्ने, उनीहरूलाई सबैभन्दा धेरै मह¬व दिने, माया देखाउने गर्नुपर्दछ।

– बालबालिकाले उमेरअनुसार शारीरिक हाउभाउ, रुवाई र बोलेर आफ्ना आवश्यकताहरू बताईरहेका हुन्छन्। यसलाई बुझेर तुरुन्तै सम्बोधन, समाधान गरिहाल्नुपर्छ। बालबालिकालाई पनि विस्तारै आफूले सक्ने कुराको समस्या समाधान गर्न सिकाउदै जानुपर्छ।

– बालबालिकाको कुरा सधैँ प्राथमिकता दिएर सुन्ने, विभिन्न हाउभाउ जस्तै, मुस्कुराएर, अचम्मको भाव व्यक्त गरेर, बालबालिकाको भाव अनुरुप कुराकानी गर्ने गर्नुपर्दछ। 

– बालबालिका रुनु भनेको संवेगको प्रष्फुटन हो। त्यसैले रोएको बेलामा रून दिने, विलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउदै माया देखाउने गर्नुपर्दछ। बालबालिका नरोएर तनाव लिएर बसेमा, यसले सुत्न नसक्ने, तर्सने, एक्लैबस्ने जस्ता व्यवहारिक समस्या आउनसक्छ।

– बालबालिकाले सामान फाल्ने रिस देखाउने गरेमा, अभिभावक शान्त हुनुपर्छ र काम नलाग्ने वस्तुहरू फाल्न र विगार्न दिनुपर्छ। यसले उनीहरू भित्र लुकेको रिस बाहिर निस्कन्छ। शान्त भएपछि, रिसको झोकमा के के बिगार्‍यो यसबाट हामीलाई के के बेफाइदा हुन्छ बताईदिनुपर्छ।

– बालबालिकालाई विभिन्न संवेगका बारेमा सिकाउनुपर्दछ र शब्दमा विभिन्न अवस्थामा कस्तो (खुसी, दुखी, रिस उठेको आदि) लागेको छ कारणसहित व्यक्त गर्न दिनुपर्छ।

– बालबालिकाको इच्छा, रहर, आवश्यकता बुझेर आफूले पूरा गर्न सकिने र नसकिने कुरा बताईदिनुपर्छ।

– घरमा विभिन्न नियमहरू बनाई पहिले आफूले पालन गर्ने र बालबालिकालार्ई पनि पालन गर्न उत्प्रेरित गर्नुपर्दछ। बालबालिकालाई सजायभन्दा पनि सकारात्मक अनुशासनमा राख्नुपर्छ।

– बालबालिकाको आत्मबल बलियो हुने खालका कथाहरू भन्ने र जुनसुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ। बालबालिकालाई आवश्यक रूपमा प्रशंसा र प्रोत्साहन गरेर हुर्काउनुपर्छ।

बालबालिकाको मानसिक स्वास्थ्यका लागि केही विशेष क्रियाकलापहरू
– 
दिनभरिको घटनाहरू एक अर्कामा भन्ने निश्चित समय वा पारिवारिक समय निर्धारण गर्नुपर्दछ। सो समयमा दिनभरिको अनुभवहरूबारे कुराकानी गर्ने गर्नुपर्दछ।
– बालबालिकाको तनाव बाहिर निकाल्न तकिया, चकटी आदिलाई हातले हिर्काउन दिनुपर्छ।
– धेरै रिस उठेमा १ देखि १० सम्म गन्ने, एउटै वस्तुलाई ५ मिनेट जति एकटकले हेर्न लगाउने र आफू पनि सँगै गर्नुपर्छ।
– बालबालिकालाई शान्त गर्न माटो वा पिठो मुछ्न लगाई बालबालिकालाई मनपर्ने आकृति बनाउन दिनुपर्छ। 
– बालबालिकासँगै खेल्ने, रमाउने, दौडने उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, तकिया हानेर खेल्ने, सँगै रोएर खेल्ने, लडिबुडी गर्ने गर्नुपर्दछ। यसले बालबालिकालगायत आफ्नो पनि तनाव कम हुन्छ। बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बन्छ।