रवि लामिछानेको बचाउमा प्रधानमन्त्रीले दिएको जवाफ चित्त बुझ्दो भएन : कांग्रेस

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको जवाफ चित्त बुझ्दो  नभएको बताएकोछ  ।

 कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले संसदमा दिएको जवाफको प्रतिवाद गर्दै लामिछामने ठगीमा संलग्न भएको पर्याप्त प्रमाण रहेको जिकिर गरे।

लेखकले संसदमा भने, ‘पीडितले दिएको उजुरी प्रमाण होइन ? यसलाई प्रधानमन्त्रीले राम्रोसँग हेर्नुभएको छैन। प्रधानमन्त्री पोखरा जाँदा हाम्रो रकम अपचलन भयो भनेर दिएको उजुरी प्रमाण होइन ? तपाईंकै क्याबिनेटका सदस्य मन्त्री हुन् भनेका होइनन ?’

लेखकले प्रधानमन्त्री दाहालले नै लामिछानेबारे गलत सूचना राखेको बताए। उनले संसदीय समिति बनाएर लामिछानेमाथि छानबिन गर्न माग गरे। यसअघि प्रश्न उठेपछि मन्त्रीहरुले पदबाट राजीनामा गरेका गरेका अनेकौ उदाहरण भएको बताउँदै लेखकले लामिछानेलाई पनि त्यहीँ बाटो अवलम्बन गर्न सुझाव दिए।

लामिछाने सहकारी ठगीमा संलग्न नरहेको भन्दै प्रधानमन्त्री दाहालले संसदमा दिएको जवाफ दिएका थिए ।