पार्टी फुटाउने जनार्दन शर्माको नियत नभएको प्रचण्डको दाबी    

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्माको पार्टी फुटाउने नियत नभएको दाबी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धारणा राखेको बताउँदै पार्टी एकतावद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन्।

उनले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए। आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो।

उनले पार्टी अब नफुट्ने पनि दाबी गरे। प्रचण्डले उपमहासचिव शर्माले उठाएका केही कुराहरु गम्भीर आशंकाका रहेको बताए।

प्रचण्डले भने, ‘त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन। उहाँले आफ्नो मतको रुपमा राख्नुभयो। यो मेरो फरक मत होइन, मत मात्रै हो। जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु। पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ। अब एकतावद्ध भएर जाने हो। कसैले भन्दैमा त्यो आशंका राख्न परेन। उहाँले उठाएका गम्भीर आशंकाका विषय छन्। व्यवहारिक कुराहरु आशंकाका छन्। ति पनि स्थायी समितिको बैठकको अन्त्यसम्म आउँदा क्लियर हुने भनेको छु।’