प्रहरी संगठनलाई क्रियाशील बनाउन ऐन संशोधन आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई क्रियाशील बनाउन ऐनमा संशोधन आवश्यक रहेको बताएका छन् ।

मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका उनले प्रहरीसम्बन्धी कानुनको संशोधन प्राथमिकतामा रहेको बताए ।

उनले नेपाल प्रहरी ऐन, २०१२ सम्बन्धी संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजाने जिकिर समेत गरेका छन् ।

“केही कानुन नयाँ बनाउनुपर्नेछ, केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौँ । बीचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्, अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्नेछ,” उनले भने ।

गृहमन्त्री लेखकले सबै कानुन समसामयिक रूपमा परिमार्जन, संशोधन र पुनरवलोकन गर्न आवश्यक रहेको औँल्याउँदै नेपाल प्रहरीमा जनशक्तिको अभाव रहेको समेत बताए ।