बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

 काठमाडौँ - बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ । ढाकास्थित नेपाली दूतावासले आज ९बुधबार० विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो ।

बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार अर्को सूचना जारी नभएसम्मका विद्यालयहरू बन्द हुनेछन् । 

त्यही कारण दूतावासले नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको छ । विद्यार्थीहरूलाई आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ । यद्यपी कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा दूतावासलाई खबर गर्न भनिएको छ ।