आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ - आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् ।

जसअनुसार सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ ।

गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका बैठक सुरु हुन सकेको थिएन । अघिल्लो अधिवेशनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा विषयगत समितिमा रहने सदस्यहरू मनोनयन भए पनि बैठक बस्न भने सकेको थिएन । 

ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।