बुद्धचित्तको बोट काटिएको आरोपमा थप एक जना पक्राउ

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय काभ्रेले दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौँबाट मानबहादुर तामाङ (सिजन) पक्राउ परेका थिए ।

उनले एक महिनाअघि २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम) भनेको भेटिएको थियो ।

काभ्रेको रोशी गाउँपालिका(५ नागबेलीस्थित शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको बोट शुक्रबार बिहान करिब १ बजे काटिएको थियो । १५/२० जनाको अज्ञात समूहले बुद्धचित्तको बोट काटेर आँगनमा चार वटा घरेलु सकेट बम राखेको थियो ।

उक्त रूखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रूपैयाँमा बिक्री गरिएको थियो । शेरबहादुरले वार्षिक तीन करोड रूपैयाँ पाउने गरी सन्दीप त्रिपाठीसँग सम्झौता गरेका थिए ।