सिआइबीले बुझायो सुन तस्करी प्रकरण प्रतिवेदन : अमला रोकासहित ५० जना प्रतिवादी, साढे ३ अर्ब बिगो दाबी

काठमाडौं- लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

प्रतिवेदनमा सीआइबीले यसभण्दा अगाडि समेत पटक पटक गरी ब्रेस शूको प्रयोग गरेर ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । सीआइबीले अनुसन्धान प्रतिवेदनमा पटक पटक गरी ३०२ किलो सुन तस्करी गरेको आरोपमा अमला रोकासहित ५० जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको छ ।

अमला रोका रोल्पाकी माओवादी नेता हुन् । उनको सुन तस्करीका मुख्य अभियुक्त तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग वैवाहिक सम्बन्ध रहेको खुलेको छ । रोका माओवादीनिकट रोल्पा काठमाडौं सम्पर्क मञ्चकी पूर्व उपाध्यक्ष पनि हुन् ।

सीआइबीले आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिएको छ । सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो दाबी गर्न पनि राय दिएको छ ।

सीआईबीले भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन्। पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन्। उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो। ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो।