पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ३ जनाको पहिचान खुल्यो 

काठमाडौँ - पाल्पाको चिदिसामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

आज केहीबेरअघि मात्र दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।घटनास्थलबाट ८ जनाको शव भेटिएको उनले जानकारी दिए  ।

उनका अनुसार जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो । डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन् । प्रहरी र स्थानीयले घटनास्थल पुगेर उद्धार गरिरहेका छन् । मृत्यु भएका आठ जनामध्ये तीन जनाको पहिचान खुलेको छ। 

स्थानीय शिक्षक प्रेम रानाका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका ६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२र३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । गाउँमा पाहुना बस्न गएकाहरू दुर्घटनामा परेकोले पहिचानमा समस्या भएको श्रेष्ठले बताए ।