दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिएअनुरूप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक, अधिकार दिएको भएपनि त्यसको कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको बताए। उनले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराए।

उनले दलित समुदाय ४५ लाखको हाराहारीमा रहेका र त्यसमध्ये ९० प्रतिशत दलित गरिबीको रेखामुनि रहेका भन्दै उनीहरूको पक्षमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको आरोप लगाए।

सांसद परियारले भने, ‘संविधानका धारा ४० न सरकारका मन्त्रीहरूले पढ्नुहुन्छ न सरकारमा एकजना दलितको मन्त्री छ। दलितका हक, अधिकारका बारेमा शिक्षा, रोजगारी, आवास, जग्गा, छात्रवृत्ति, स्वास्थ्य सेवा लगायतका धेरै अधिकार त्यहाँ उल्लेख गरिएका छन्। त्यसको कार्यान्वयन गर्ने कुरामा सरकारको अहिलेसम्म ध्यान, दृष्टि जान थालेको छैन। म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु । दलित समुदाय सन् २०२१ को जनगणना अनुसार १३.८ प्रतिशत छन्। ४५ लाखको हाराहारीमा छन्। त्यसमध्ये ९० प्रतिशत दलित गरिबीको रेखामुनि छन्। गरिबीको रेखामुनि रहेका दलितको पक्षमा यो सरकारले कुनै कार्यक्रम ल्याउन सकिरहेको छैन।’

उनले छुवाछुतमुक्त राष्ट्र घोषणा भएपनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण पनि गराए।