टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएकाहरूसँग राज्यले माफी माग्नुपर्छ : रेशम चौधरी  

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍याउनु अपराध हो ?  भन्दै प्रश्न गरे। उनले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए।

उनले कसले घटना गरायो भन्ने कुरा लाल आयोगलाई सोध्न आग्रह गरे। उनले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए।

उनले भने, ‘सबैभन्दा पहिला टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ। हाम्रो के अपराध थियो। जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ?  घाइतेलाई उठाएर उपभार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजिनीति गर्नुस्। घटना कसले गरायो हामीलाई नसोध्नुस्। लाल आयोगलाई सोध्नुस्। मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ। टीकापुरको अब नाम भन्ने बेला आएको छ। साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ?’

उनले अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको बताए।