सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गर्नुपर्छ : सांसद पन्त

काठमाडौँ ।  नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकताको विषयमा छानबिन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा  बोल्दै सांसद पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको बताए ।

अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै उनले प्रश्न उठाएका हुन् ।