सार्कलाई चलायमान बनाउन नेपालले पहल गर्नुपर्छ : रघुजी पन्त

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले सार्क संगठन लथालिंग भएको उल्लेख गर्दै यसका महत्त्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क संगठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गरे।

उनले भने, ‘सार्क विश्वविद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ। नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ। कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौँ भन्न सक्नुपर्छ।’

साथै उनले सार्कका समस्या जस्ताको तस्तै रहेकामा प्रधानमन्त्री दाहालले संसद्लाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग गरे। ‘उनले भने, ‘भारत भ्रमणमा के–के भयो ? नेपाल–भारतबीचको समस्याबारे के–के ठोस कुरा भयो ? यो संसद्को विशेषाधिकार हो। यो संसद्ले जानकारी पाउनुपर्छ। सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ।’