विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ - विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ ।

त्रिविवि शिक्षण अस्पतालका मानसिक रोग विभागको प्रमुखमा डा। सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्ररित गर्ने बताउँछन् । मानसिक स्वास्थ्यबारे उनी भन्छन्, ‘जो व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्छ र दैनिक जीवनमा आउने तनावलाई त्यो क्षमताले व्यवस्थापन गरेर आफ्नो जीवनमा सकारात्मक किसिमको भूमिका निर्वाह गर्छ भने त्यो स्थिति नै मानसिक स्वास्थ्य र ‘मेन्टल वेयल विङ हो’ ।’

उनका अनुसार मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । ‘युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निरासा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पर्न सक्छ’, डा। ओझा भन्छन्, ‘व्यक्ति आफूले यस्ता तनाब बहन गर्ने क्षमताको वृद्धि गर्नुपर्छ । आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्छ ।’

दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको सुझाव छ । उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने उनी बताउँछन् ।