काठमाडौं महानगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने 

 काठमाडौँ - काठमाडौं महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा सोमबार कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरे । यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए ।

उपप्रमुख सुनिता डङ्गोलले अब रगतका लागि सहज हुने बताइन् । कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार, उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट रु एक हजार ६० र क्रस म्याच गराउनु परे थप रु दुई सय उपलब्ध गराइनेछ ।