नुवाकोटमा विकासको ठूलो सम्भावना छः अर्थमन्त्री डा. महत

नुवाकोट - अर्थमन्त्री डा. प्रकाशशरण महतले राजधानी काठमाडौंसँग जोडिएको नुवाकोटमा विकासको ठूलो सम्भावना रहेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति नुवाकोटले आयोजना गरेको शुभकामना आदान–प्रदान तीज विशेष कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘चीनसँग जोडिएको रसुवागढी धेरै टाढा छैन । व्यापार, पर्यटन, कृषि र उद्योग व्यवसायमा अथाह सम्भावना छ।’

नुवाकोट खाद्यन्नमा आत्मनिर्भर रहेको उनको भनाइ थियो। यसका साथै निर्यातका वस्तु धेरै रहेको उनले बताए। ‘कृषि उत्पाकत्व बढाउन यसपटकको बजेटमा उत्पादनमा अनुदानको व्यवस्था गरिएको छ। कागज बनाएर अनुदान खाने हो प्रवृत्ति अन्त्य भयो, अब उत्पादन देखाएर अनुदान पाउने प्रस्ताव गरेका छौं। कृषि मन्त्रालयलाई लागू गर्नुस् भनेका छौं,’ उनले भने।