प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा उनीहरुबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका विषयमा पनि समकक्षी मोदीसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए ।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली गएका थिए । आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् ।