प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गरिने

 काठमाण्डौँ - प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ ।

सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि विनियोजन विधेयकमाथि नियमित छलफल हुने अधिकारीले बताए ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।
सभामुख घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।

बैठकमा मुख्य सचिव डा। बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी भएका थिए ।