नेपालले कोदो उत्पादन बढाएर विदेश निर्यात गर्न सक्छ : कृषिमन्त्री भुसाल

काठमाडौँ - कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन् । उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्नसक्नु पर्ने बताए ।

उनले बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गरे ।
राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले सरकारले पनि कोदो उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको उल्लेख गरे ।

उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको उल्लेख गरे । उनले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको बताए ।
खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने उनको भनाई थियो । जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम आएको बताए ।

उनले भने, ‘नेपालको भौगोलिक हिसावले पनि पहाडी क्षेत्र कोदो उत्पादनका लागि उर्वर छ, खाद्यान्न वृद्धिको जुन अभियान हामीले भनेका छौँ, त्यसका लागि यो महत्वपूर्ण क्षेत्र एउटा हो। जसलाई हामीले मकै र कोदो एकैपटक लगाउन सक्छौँ । जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम छ, त्यसमा कोदो उत्पादन बढाउँदा राम्रो हुन्छ ।’

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउनुपर्ने र कोदोबाट विभिन्न परिकार बनाएर विश्वमा ब्राण्डिङ गर्नुपर्ने बताए । उनले भारतले कोदोको उत्पादन बढाउने अभियान नै सञ्चालन गरिरहेको भन्दै नेपालले पनि कोदो उत्पादन बढाउने गरी उत्पादनलाई बजारीकरण गर्नसक्नुपर्ने बताए ।

उनले कोदो स्वास्थ्यका लागि धेरै नै लाभदायी भएकाले पनि नेपाल र भारत दुवै देशले आफ्नो उर्वर भूमिमा कोदो रोप्नुपर्ने बताए । उनले भारतले केही दिनपछि नै जि २० सम्मेलन गरिरहेको र सो सम्मेलनमा पनि दिगो विकासलाई प्राथमिकतामा राखेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि प्राकृतिक कृषि क्षेत्रलाई प्रोत्साहन गर्नेगरी नेपालको कृषि प्रणाली विकास गर्ने बारेमान छलफल भएको बताए ।