नाउपा रेशम पक्षले बोल्ड निर्णय लिँदै, पार्टी बलियो बनाउने आश्वासन 

काठमाण्डौँ - रेशम चौधरी पक्षीय नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहरूको भेला काठमाडौँमा बसिरहेको छ । हिजो र आज बस्ने भेलाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रदेश सरकारमा सहभागी हुनुपर्ने मत बलियो रूपमा आएको नाउपाका एक नेताले बताए । तर, कुन गठबन्धनको सरकारमा सहभागी हुने र कसरी जाने भन्ने विषयमा कुनै निर्णय नभएको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

आज ११ बजेदेखि रेशम पक्षका नेताहरू पुन बैठकमा बस्दै छन् । त्यसले सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा टुङ्गो लगाउने चौधरीले बताए ।

यसअघि कांग्रेस नेतृत्वको सरकारमा नाउपा रेशम पक्षका पाँच जना नेता मन्त्री थिए । कुल ७ मध्ये पाँच जनालाई मन्त्री बनाउँदा पनि बहुमत पुर्‍याउन नसकेपछि कांग्रेसका कमल बहादुर शाहले राजीनामा दिएका थिए ।

अहिले प्रदेश प्रमुखले १० दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । नाउपामा रेशम पक्षका नेताहरूबीच सरकारमा जाने विषयमा एक मत भए पनि कुनसँग जाने टुङ्गो लागेको छैन। यता अध्यक्ष रन्जिता श्रेष्ठ पक्षले नयाँ सत्ता गठबन्धन अनुसार नै सरकारमा सहभागी हुने जनाएका छन् ।