२०२३ मा नेपालको जिडिपी वृद्धिदरमा संकुचन : विश्व बैंक भन्छ-'१.९ प्रतिशतमा खुम्चिन्छ'  

काठमाडौँ - सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने विश्व बैंकले अनुमान गरेको छ । 

विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

यस वर्ष न्यून आर्थिक वृद्धिदर १.९ प्रतिशत, बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रुपमा देखाएको छ । यस वर्ष जिडिपी तुलनामा चालु खाता घाटा छ दशमलव एक प्रतिशत हाराहारी पुग्ने र वार्षिक औसत मुद्रास्फीति सात दशमलव आठ प्रतिशत रहने अनुमान गरिएको छ।

नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको प्रक्षेपण छ । मुद्रास्फीति सन् २०२४ मा साढे सात प्रतिशत र सन् २०२५ मा छ दशमलव चार प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।