आज बुद्ध जयन्ती :  विविध कार्यक्रम गरी मनाइँदै

 काठमाडौँ - शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।