किराँत समुदायले आज उभौली पर्व मनाउँदै

 काठमाडौँ - प्रकृतिपूजक किराँत जातिले आज उभौली पर्व मनाउँदैछन् । वैशाख पूर्णिमाका अवसरमा ढोलझ्याम्टाका साथ साकेला नाच्दै मनाइने किरात राई समुदायले उभौली पर्व मनाउने गर्दछन् ।

किराँती प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुशी पार्न हरेक वर्ष यो पर्व मनाइन्छ । किराँतको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो ।

वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा भनिन्छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ । उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ ।

किरात राईहरूको बसोबास रहेको कोशी प्रदेशअन्तर्गतका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौँ आदि सहरमा रहेका राई समुदायले यो पर्व धुमधामका साथ मनाउने गर्छन् ।