मूल्यवृद्धि रोक्न अनुगमनलाई तीव्रता दिइने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ - सरकारले आसन्न चाडपर्वका बेला हुनसक्ने कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्नका लागि बजार अनुगमनलाई तीव्रता दिने भएको छ ।

सिंहदरबारमा  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा गैरखाद्य वस्तुहरूको बिक्रीबितरणको अवस्थाबारे नियमित बजार अनुगमन गरी दोषी पाइए कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

बैठकले चाडपर्व लक्षित खाद्य वस्तुहरूको बिक्री बितरणका लागि सार्वजनिक निकायहरूलाई सूपथ मूल्य पसल स्थापना गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले चाडपर्वको बेला उच्च माग हुने वस्तुहरूको कृत्रिम अभाव सृजना गरी अस्वाभाविक मूल्यवृद्धि कालोबजारी, अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तवरले बिक्रीबितरण गर्ने अनुुचित कार्यहरू नगर्न र नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।