इलाम र बझाङ उपनिर्वाचन : अन्तिम मतदाता नामावली प्रकाशित

काठमाडौँ - निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।आयोगले इलाम(२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ । आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ ।

त्यस्तै बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जानकरी दिएको छ । निर्वाचन आयोगले अध्यावधिक गरेको देशभरको पछिल्लो मतदाता संख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ । जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन् ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन् । जसमा महिला मतदाता ३ लाख ६२ हजार ९७३ तथा पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन् ।

त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन् । जसमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् । आयोगले यस अघि २०८० बैशाख १० गते अध्यावधिक गरेदेखि अहिलेसम्म कुल ८७ हजार ४१७ मतदाता थप भएको जनाएको छ ।