गृहमन्त्री लामिछाने र मेयर बालेनबिच छलफल,के भयो कुराकानी ?  

काठमाडौँ - गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । 
मेयर बालेन आफ्ना पुरानै चासो लिएर गृहमन्त्री भेट्न पुगेका थिए । 

भेटवार्तामा बालेनले सुकुम्बासी समस्या समाधानबारे आफूले राखेको प्रस्तावमा के भयो भन्ने जिज्ञासा राखेका थिए ।

उनले तीनकुनेको पार्कमा केही व्यक्तिको जग्गा परेको र त्यसको मुआब्जा वितरणको विषयमा मन्त्रालयमा फाइल अड्केको सुनाए । 
पार्किङ खाली गरिएको न्यूरोडमा फुटपाथ बढाउने योजनाबारे पनि गृहमन्त्रीलाई अवगत गराए । सार्वजनिक यातायातलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउन गृह मन्त्रालयले ध्यान दिन उनको आग्रह थियो ।

गृहमन्त्री लामिछानेले पनि मेयरबाट यसअघि पेश गरिएको प्रस्तावबारे बुझेर आफूले आवश्यक निर्णय लिने आश्वासन दिए । स्रोतका अनुसार बालेनले गृहमन्त्रीसँग भेटको फोटो नखिच्न आग्रह गरेका थिए । रवि दोस्रोपटक गृहमन्त्री भएपछि पहिलोपटक बालेनले उनलाई भेटेका हुन् ।