मुद्दा जितेपछि भारती मानन्धर बालकोट पुगिन्, ओलीले के भने ? 

 काठमाडौँ - श्रीमानका हत्यारालाई दिइएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको भोलिपल्टै भारती मानन्धर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी छन् ।

आज बिहान भारती ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी हुन् । हिजो सर्वोच्च अदातले भारतीका श्रीमान चेतन मानन्धरका हत्यारा योगराज ढकाल ‘रिगल’ ले पाएको आममाफी बदर गरेको थियो । ओलीसँगको भेटका क्रममा भारतीले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिइन् । ओलीले आफू नेपालगञ्ज जाँदा त्यतिबेलाको घटना सुनेपछि नै कैद मिनाहा गर्ने सरकारको निर्णयको विरोध गरेको बताए ।

‘सरकारले गरेको अन्यायविरुद्ध म सधैँ साथमा छु’, एमाले अध्यक्ष ओलीले भारतीलाई सान्त्वना दिँदै भने, ‘स्वास्थ्यको ख्याल गर्नू । बेहोस भइरहनुहुँदो रहेछ । राम्ररी उपचार गराउनू ।’ सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय हिजो बदर गरिदिएको हो । पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको थियो ।

चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो । अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर आजका लागि गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको थियो । न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरु समेत मगाएका थिए ।