गृहमन्त्रीबारे कांग्रेसको चेतावनी : छानबिन समिति नबने अबको बैठक चल्दैन  

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान कायमै रहेको बताएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर छानबिन गरिनुपर्ने अडान राखेका हुन् ।

उनले अबको बैठकमा आउँदा संसदीय छानबिन समिति नबने संसद् चल्न नसक्ने चेतावनी दिए । उनले प्रधानमन्त्रीले निर्दोष छन् भन्दै गरेको भाषणले थप शंका जन्माएको बताए ।

महामन्त्री शर्माले भने, “सभामुख महोदय संसद् अवरोध नि गरेको भनेर हामीमाथि प्रश्न गरिँदैछ । संसद् लगातार चलिरहेको छ । हामीले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने हामीले संसद् अवरोध गर्नुपर्छ ।”

शर्माले फागुन २१ बनेको नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी मिसिनुअघि रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरिएको कुरा भ्रममात्रै रहेको पनि तर्क गरेका छन् ।