कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न निषेध गरेको प्रति सांसद वाग्लेको आपत्ति  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णीम वाग्लेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न निषेध गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भन्दै प्रश्न गरे । 

वाग्लेले संसदीय छानबिन समिति बनाउन आपत्ति नभएको बताए । उनले आरोप लाग्दैमा र जाहेरी पर्दैमा राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो भन्दै कांग्रेसलाई प्रश्न गरे ।

“सर्वदलीय सहमति गरौँ । आरोप लाग्नासाथ राजीनामा गरौँ । मन्त्रीले मात्रै होइन सांसदले पनि राजीनामा गरौँ,” उनले भने, “आरोप लाग्यो र जाहेरी पर्यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो ?”

उनले यसमा सर्वदलीय सहमति हुने भए पहिलो हस्ताक्षर रास्वपाले गर्ने बताए । वाग्लेले पहिले गृहमन्त्रीको जवाफ सुन्न आग्रह गरे ।