लगातार छैटौं दिन पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार, बुधबार, बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४ सय, ८०० र ८०० रुपैयाँले घटेको थियो।
यसअघि, आइतबार छापावाल सुन १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । 

सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।