कांग्रेस र एमाले मिलेर मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउन खोजे : जगन्नाथ खतिवडा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणबारे सम्झौता भएपछि खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिएका छन् । 

उनले एमाले र कांग्रेसले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम गर्न लागेको आरोप समेत लगाए । काठमाडौँको प्रज्ञा भवनमा जारी पार्टीको महाधिवेशनमा खतिवडाले दुई ठूला दल मिल्नु खतराको कुरा भएको बताए ।

“नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो । यो लोकतन्त्रका निम्ति पनि खतरा हो । प्रणालीलाई कमजोर पार्ने काम भएको छ । सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा हामीलाई मान्ने छैन । यो अधिकार अमुख दललाई छैन,” उनले भने ।