प्रतिनिधि सभा बैठक बस्दै, तीन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज मंगलबार पनि बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बस्नेछ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी गराउनेछन् । 

आजकै बैठकमा उपप्रधान मन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘विमस्टेक वडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ तथा ‘अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पति भएको ‘विधायन सबन्धी विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।