सरकारी वेबसाइट तथा सर्भर डाउन बारे संसदमा उठ्यो प्रश्न

काठमाडौँ । सरकारी वेबसाइट तथा सर्भर डाउन तथा ह्याक हुने क्रम बढेकोप्रति सदनमा प्रश्न उठेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सरकारी वेबसाइट तथा सर्भर डाउन र ह्याक हुँदा महत्त्वपूर्ण डेटा खतरामा परेको बताए।

सांसद पौडेलले खतरामा रहेका यस्ता सकारी डेटाको सुरक्षाप्रति सरकार प्रतिबद्धसमेत नदेखिएको भन्दै प्रश्न उठाए। ‘सरकारी वेबसाइट र सर्भर डाउन र ह्याक हुने कुनै नौलो विषय भएन’, उनले भने, ‘आजको मुख्य सम्पति भनेको डेटा हो। राज्यले आफ्नो सुरक्षा त गर्न सक्दैन भने नागरिकको डेटाको सुरक्षा कसरी गर्न सक्छ ?’

बिहीबार र शुक्रबार प्रतिनिसभाकै वेबसाइट डाउन थियो। बिहीबार त्रिभुवन विमानस्थल अध्यागमन विभागको सर्भरसमेत डाउन हुँदा घण्टौं यात्रु लाइनमा बस्नुपरेको थियो। करिब चार घण्टा यात्रु लाइनमा बस्नुपर्दा रातिका उडान प्रभावित भएका थिए।