'राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि सुविधाबाट वञ्चित हुनु पर्दैन' :  गृहमन्त्री

 काठमाडौँ - गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । आज  प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे ।

‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरुमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरुसँग समय छ । भदौ मसान्तसम्म भर्दा पनि तपाईले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरु वञ्चित हुनु पर्दैन’ उनले भने । गृहमन्त्री लामिछानेले सूचना पाउनासाथ सबै जना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको उल्लेख गरे । भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि उनले जनाए।

उनले भने ‘स्थानीय निकायमा पनि थप जनशक्तिको प्रवाह गर्ने काम भएको छ । सूचना लिने बित्तिकै छिटो गरौँ भन्ने स्वभावका कारणले भीडभाड अवश्य पनि लागेको छ । भीडभाड गर्नुपर्ने आवश्यकता नै छैन । तत्काल गर्नुपर्ने आवश्यकता नै छैन ।’ गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकाहरुका लागि विशेष व्यवस्था गरिने पनि जनाए ।