दैलेख पेट्रोलियम पदार्थ उत्खनन : उपकरणसहितका सामान दैलेख पुग्यो 

 दैलेख - दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् ।

पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ। ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ ।

भारतको रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रक दैलेखका लागि हिँडिसकेको जनाइएको छ । अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ । सुरक्षा व्यवस्थालगायतका अन्य कामका बारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आयोजनास्थलको अनुगमन गरेका छन् ।