मुलुकलाई निकास दिन साझा धारणा बनाएर अघि बढ्नुपर्छ : नेता महर  

काठमाडौँ । मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको धारणा छ।

आज काठमाडौँको नयाँ बानेश्वरमा शिक्षक संघसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए।

‘सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन। मुलुक संवेदनशील अवस्थामा छ। यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ। र, त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ’ उनले भने।

सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृह मन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ।

संसदभित्र कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्रीमाथि छानबिन गर्न आवाज उठाएकोमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्न खोज्नुले पनि सरकारको पारदर्शितामा ठूलो प्रश्न चिन्ह खडा भएको महरले बताए।