ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। स्वीकृत लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ।
