रोशन परियारको कविता : हाँसोको पसारो...
ऊ छेऊमै आँसुको भेल बगाउँदै थियो, बास उजाडियो, अलपत्र आँखा छहारी खोज्दै थियो । टेका पाएनन् बागमतीमै डुबे कोही, उम्किएका पाइलाहरु आश्वाशनमा अडिए, छहारी त पाए, हजुर फेरि खोलामै फर्काए । परान फाल्न कसलाई रहर यो कहरको सहरमा, यो भागदौड म्याराथोन भए सबथोक मिल्थ्यो होला । उनी प्यासी थिए होलान् तर खोला माग्या होइन, न त विकल्पमा आत्मदाह नै रोज्या होलान् । अहँ, पोल्दैन यहाँ कसैलाई त्यो आगोको रापले, हाँसोको पसारो देख्दै थिए, नानाथरी कोर्दै ।
