घाइतेको उपचारका लागि तरुण दलले गर्यो रक्तदान
रसुवा। रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोमा परी घाइते भएका नागरिकका लागि रगतको अभाव हुन नदिन नेपाल तरुण दल केन्द्रीय समितिले विशेष रक्तदान कार्यक्रम गरेको छ। विपद्को कठिन समयमा रगत अभावका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आयोजित कार्यक्रममा १५० जनाभन्दा बढी तरुण युवाहरूले रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्षले विपद्को समयमा नागरिकको सुरक्षाभन्दा ठूलो अरू केही नहुने बताए । उनले जनता नै राष्ट्रको मूल आधार भएको उल्लेख गर्दै जनताको दुःखमा मलम लगाउन तरुणहरू सधैँ तत्पर रहेको बताए । ‘जनताको सुरक्षा र अधिकारभन्दा ठूलो अरू केही छैन, जनता नै यो राष्ट्रका सार्वभौम मालिक हुन्’, उनले भने । उनले जनताको आँसु पुछ्न र घाइतेको घाउमा मलम लगाउन तरुणहरू कहिल्यै पछि नहट्ने बताए । विपद्का हरेक मोर्चामा राहत तथा उद्धारका लागि अग्रपङ्क्तिमा उभिएर जनताको साँचो साथी बन्न उनले तरुणहरूलाई आह्वान गरे ।
