भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा जुट्न समता फाउन्डेसनको आग्रह
ललितपुर। समता फाउन्डेसनले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको तत्काल खोज, उद्धार, उपचार तथा राहतमा जुट्न अपिल गरेको छ। फाउन्डेसनका अध्यक्ष पदम सुन्दासले बिहीबार विज्ञप्ति जारी गर्दै आकस्मिक भीषण बाढीले टिमुरे, मेलुङ, स्याफ्रुबेँसी, रसुवा, नुवाकोट तथा गोरखा, धादिङ र चितवनका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएकोप्रति दुख व्यक्त गरेका छन्। फाउन्डेसनले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोज तथा उद्धारका लागि सबैमा अनुरोध गरेको छ । विपद्को समयमा प्रभावित नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएकाले सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, नागरिक समाज, सुरक्षा निकाय, मानवीय संस्था, विकास साझेदार तथा सञ्चारकर्मीलाई प्रभावित नागरिकको जीवनरक्षा र मानवीय सहायता समन्वय गर्न फाउन्डेसनले आग्रह गरेको छ । फाउन्डेसनले बाढी तथा पहिरोमा फसेका नागरिकको तत्काल खोज, उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न, घाइते तथा बिरामीको तत्काल उपचार तथा आवश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्न र प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, औषधि, अस्थायी आवास, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउन सरकार र सम्बन्धित निकायसँग अनुरोध गरेको छ । त्यस्तै, प्रभावित व्यक्ति तथा समुदायको विशेष आवश्यकता पहिचान गरी लक्षित राहत तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्न पनि फाउन्डेसनले आग्रह गरेको छ । विपद्को यस कठिन घडीमा रसुवा तथा अन्य प्रभावित क्षेत्रका नागरिकसँग ऐक्यबद्धता व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा सहयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र अन्य सरोकारवालालाई समेत फाउन्डेसनले अनुरोध गरेको छ ।
