SHARE
Samata Press · बिहीबार ११ भौ २०८३ १०:३३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन

सुनसरी। भोटेकोशी नदीमा आएको बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १ सय ३० जना सम्पर्कविहीन छन्। प्रदेश प्रहरी कार्यालयले संकलन गरेको तथ्यांकअनुसार १ सय ३८ जना सम्पर्कविहीन थिए, तीमध्ये आठ जना सम्पर्कमा आएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार अहिले सबैभन्दा धेरै सोलुखुम्बुका ३८ जना, सुनसरीका १७, मोरङका १४, उदयपुरका १३, ओखलढुंगाका १२, इलामका ९, झापाका र खोटाङका ८/८, ताप्लेजुङका ६, संखुवासभाका ३, धनकुटा र भोजपुरका १/१ जना सम्पर्कविहीन छन्।  पाँचथर र तेह्रथुमबाट भने हालसम्म सम्पर्कविहीनको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेमा रोजगारी, जलविद्युत् आयोजना, पर्यटन तथा तीर्थयात्राका लागि रसुवा, नुवाकोटलगायत क्षेत्रमा पुगेका व्यक्तिहरू रहेको डीआईजी शेखर खनालले जानकारी दिए। जलविद्युत् आयोजनामा कार्यरत मजदुर तथा कर्मचारी, ट्रक चालक, होटल व्यवसायी, पर्यटक तथा ट्रेकिङ समूहमा रहेका व्यक्तिहरूसमेत सम्पर्कविहीन छन्।  प्रहरीले सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे सम्बन्धित परिवार तथा स्थानीय तहसँग समन्वय गरी थप विवरण संकलन गरिरहेको जनाएको छ।