गुरुङ पहिचानले विस्तारित लमजुङको पर्यटन
लमजुङ। कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो । समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइँसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ । रोधीले सिकाएको सामूहिकता, आत्मीयता र मौलिक संस्कृतिप्रतिको अपनत्व अहिले लमजुङको ग्रामीण पर्यटनको बलियो आधार बनेको छ । ‘होमस्टे’मार्फत यही सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै गुरुङ समुदायले पर्यटनलाई आर्थिक समृद्धिको भरपर्दो माध्यमका रूपमा विकास गरिरहेका छन् । गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङमा मौलिक पहिचानलाई पर्यटनसँग जोड्ने अभियानले पछिल्ला वर्षमा उल्लेखनीय गति लिएको छ । उक्त समुदायको भाषा, वेशभूषा, कला, संस्कृति, परम्परा, स्थानीय खानपान, रहनसहन र आत्मीय आतिथ्यता अहिले स्वदेशी तथा विदेशी पर्यटकका प्रमुख आकर्षण बनेका छन् । गाउँमा सक्रिय आमा समूह, बाबा समूह, युवा क्लब, होमस्टे व्यवस्थापन समिति र स्थानीय पर्यटन समितिले संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाइरहेका छन् । लमजुङमा ग्रामीण पर्यटनको सङ्गठित सुरुआत क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँबाट भएको मानिन्छ । विसं २०५७ मा महोत्सवसँगै सुरु गरिएको होमस्टे अभियान आज पर्यटनको परिचय बनेको छ । त्यसपछि भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे, घेर्मुलगायत गाउँमा पनि ग्रामीण पर्यटन विस्तार हुँदै गएको छ । समुद्री सतहदेखि करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमूना ग्रामीण पर्यटकीय गाउँका रूपमा परिचित छ । यहाँबाट अन्नपूर्ण, मनास्लु, लमजुङ र हिमालचुलीलगायत हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । परम्परागत गुरुङ बस्ती, स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति र आत्मीय आतिथ्यले वर्षौँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको छ । घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार होमस्टेले गाउँको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । पर्यटनबाट स्थानीयको आम्दानी बढेको छ भने गाउँको पहिचान राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म विस्तार भएको छ । होमस्टेले लोपोन्मुख संस्कार, संस्कृति, परम्परागत परिकार र सामुदायिक जीवनशैलीलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको **उनले बताए** । क्व्होलासोथर गाउँपालिका–४ भुजुङ गाउँ गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयका रूपमा परिचित छ । परम्परागत ढुङ्गे घर, मौलिक संस्कार, धार्मिक आस्था र प्राकृतिक सुन्दरताले भरिएको यस गाउँमा २०६४ सालदेखि होमस्टे सञ्चालन हुँदै आएको छ । यहाँ पुग्ने पर्यटकले गुरुङ समुदायको जीवनशैली, संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्ने अवसर पाउँछन् । मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँ मनास्लु हिमालको काखमा अवस्थित अर्को आकर्षक गन्तव्य हो । त्यहाँबाट मस्र्याङ्दी नदीको नागबेली दृश्य देख्न सकिन्छ । स्थानीय समुदायको सक्रियतामा पर्यटन प्रवद्र्धनसँगै संस्कृति संरक्षणका अभियान निरन्तर सञ्चालन भइरहेका छन् । सिउरुङका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार आधुनिक जीवनशैली र वैदेशिक रोजगारीका कारण मौलिक संस्कृति सङ्कटमा परे पनि पर्यटनसँग जोडिएपछि त्यसको संरक्षणमा सबैको चासो बढेको छ । **उनका** अनुसार होमस्टे सञ्चालक मात्र नभई दूध उत्पादन गर्ने किसान, अग्र्यानिक तरकारी उत्पादक, स्थानीय अन्नबाली उत्पादन गर्ने परिवार, हस्तकलामा संलग्न महिला तथा अन्य साना व्यवसायी पर्यटनबाट प्रत्यक्ष लाभान्वित भएका छन् । पर्यटक बढेसँगै गाउँमा रोजगारी र आयआर्जनका अवसर विस्तार हुँदै गएको **उनले बताए** । पर्यटकलाई स्थानीय स्वाद र मौलिक अनुभव दिलाउन गाउँलेले मौसमी उत्पादनको संरक्षण गर्दै आएका छन् । वर्षायामपछि लेकतिरबाट निउरो, च्याउलगायत स्थानीय उत्पादन सङ्कलन गरी सुरक्षित राख्ने र पर्यटकलाई परम्परागत परिकारका रूपमा पस्कने गरिन्छ । कोदो, फापर, मकै, स्थानीय दाल र अन्य मौलिक परिकारले पनि पर्यटकलाई गाउँले स्वादसँग जोड्ने गरेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको पसगाउँले पनि ग्रामीण पर्यटनमा छुट्टै पहिचान बनाएको छ । यहाँ प्रदर्शन गरिने कृष्णचरित्र नृत्य, घाटु, झ्याउरे, सोरठी तथा सारङ्गीका मौलिक प्रस्तुति पर्यटकका लागि विशेष आकर्षण बनेका छन् । यस्ता सांस्कृतिक कार्यक्रमले गुरुङ समुदायको पहिचान जोगाउनुका साथै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । ग्रामीण पर्यटनको विकासमा महिलाको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । अधिकांश होमस्टेमा आमा समूहले पाहुनाको स्वागत, स्थानीय परिकार तयारी, सरसफाइ व्यवस्थापन तथा सांस्कृतिक कार्यक्रम सञ्चालनको नेतृत्व गर्दै आएका छन् । युवा पुस्ताले पथप्रर्दशक, पर्यटन उद्यमी, सांस्कृतिक प्रस्तोता तथा ‘डिजिटल’ माध्यमबाट प्रचारप्रसार गरी गाउँमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले संरक्षणसँगै नयाँ पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको **बताए** । **उनका** अनुसार गाउँ–गाउँमा पार्क निर्माण, प्राकृतिक झरनाको संरक्षण तथा सौन्दर्यीकरण, नयाँ पर्यटकीय गन्तव्यको विकास, पदमार्ग निर्माण र सेवासुविधा विस्तारका काम भइरहेका छन् । **उनले** दूधपोखरी जाने मेमेडाँडा क्षेत्रमा पदमार्ग निर्माण भइरहेको **जानकारी दिँदै** उक्त पदमार्ग पूरा भएपछि कास्कीबाट आउने पर्यटकलाई यस क्षेत्र हुँदै मनाङसम्म पुग्ने वैकल्पिक पदयात्रा मार्गका रूपमा विकास गर्ने लक्ष्य रहेको **बताए** । पर्यटकको बसाइ अवधि लम्ब्याउन नयाँ पर्यटकीय गतिविधि विकास, स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ तथा कृषि र पर्यटनलाई एकीकृत गर्ने योजनामा गाउँपालिका केन्द्रित रहेको **उनको** भनाइ छ । ग्रामीण पर्यटनले केही चुनौती पनि भोगिरहेको छ । वर्षायाममा सडक अवरुद्ध हुने, केही पर्यटकीय गाउँमा गुणस्तरीय पूर्वाधारको अभाव, दक्ष जनशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुनु तथा मौलिक संस्कृतिमा आधुनिक प्रभाव बढ्दै जानु प्रमुख चुनौतीका रूपमा देखिएका छन् । पर्यटन व्यवसायीले यी समस्या समाधानका लागि पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार र तीनै तहका सरकारको समन्वय आवश्यक रहेको बताएका छन् । प्राकृतिक सम्पदा, गुरुङ संस्कृतिको मौलिकता, सफल होमस्टे अभ्यास, कृषि र पर्यटनको अन्तरसम्बन्ध तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण लमजुङको ग्रामीण पर्यटनको भविष्य थप सम्भावनायुक्त देखिएको छ । पदयात्रा मार्ग विस्तार, डिजिटल प्रचारप्रसार, स्थानीय उत्पादनको ‘ब्रान्डिङ’ र सांस्कृतिक सम्पदाको संरक्षणलाई थप प्रभावकारी बनाउन सके पर्यटकको बसाइ अवधि र पर्यटनबाट हुने आम्दानी अझ बढ्ने अपेक्षा गरिएको छ । रोधीघरमा हुर्किएको सामूहिकताको संस्कार आज होमस्टे, सांस्कृतिक पर्यटन र आत्मीय आतिथ्यतामार्फत नयाँ स्वरूपमा पुनर्जीवित भइरहेको छ । गुरुङ समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक जीवनशैलीलाई संरक्षण गर्दै त्यसलाई आर्थिक समृद्धिको आधार बनाएको छ । पर्यटनले संस्कृति जोगाउने मात्र होइन, गाउँमा रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनको बजार विस्तार गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने माध्यमका रूपमा पनि आफूलाई स्थापित गरिरहेको छ । संस्कृति संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाउने लमजुङको अभ्यास नेपालका अन्य ग्रामीण क्षेत्रका लागि पनि अनुकरणीय नमूनाका रूपमा स्थापित हुँदै गएको छ ।
