धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाउने अभियुक्त पक्राउ
मकवानपुर । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि मंगलबार राति करिब ११ः५५ बजे आक्रमण भएको थियो । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सविन नेपालीले तामाङलाई कुटपिट गर्नुका साथै शरीरका विभिन्न भागमा धारिलो हतियार (टाप) प्रहार गरेका थिए। उक्त आक्रमणबाट तामाङ गम्भीर घाइते भएका छन्। घटनालगत्तै अभियुक्त फरार भएका थिए।
