धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । सोमबार २३ औं राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्दै उनले कृषकलाई आवश्यक कृषि सामग्री, उचित मूल्य र बजार पहुँच उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका हुन् । राष्ट्रपति पौडेलले खाद्य सुरक्षालाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको बताए । जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो चुनौती देखिएको बताउदै उनले सरकारले सिँचाइ पूर्वाधार विस्तार, जलवायुमैत्री कृषि प्रविधिको विकास तथा कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउन प्राथमिकता दिनुपर्ने बताए ।
