आगोसँग खेल्ने काम नगर्न रास्वपालाई पुनको चेतावनी
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीयताको सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ भन्दै आलोचना गरेका छन्। आइतबार सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक व्यवहारले जनमतको अपमान गरेको आरोप लगाए। उनले निर्वाचनका बेला र विभिन्न प्रदेशमा पुगेर सङ्घीयता सुदृढ गर्ने प्रतिबद्धता जनाउने तर पछि महाधिवेशनमार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनतामाथिको धोका भएको टिप्पणी गरे। पुनले रास्वपाभित्र वैचारिक स्पष्टताको अभाव रहेको दाबी गर्दै सभापति र उपसभापतिको धारणा विपरीत हुनु पार्टीभित्र गम्भीर वैचारिक द्वैधताको संकेत भएको बताए।
