चमेलीहरू
मेरामध्ये गर्मीका हपहपी पोल्ने उराठ दिनहरूमा पनि हिउँदका दिनका चिसा सिरेटाहरूझैँ मेरा सर्वाङलाई थरथर कमाउन, ठिहिरो बनेर उजागार हुन्छन्, हृदयका कुनाभित्र बसेका चमेलीहरूका यादहरू।दशकौंपछि पनि हजारौं रेक्टरको भुँइचालो दिइरहने सामर्थ्य राख्छन् तिनका यादहरू, मेरो आत्माको तलाउ, तरंगित पार्छन्, यादका पराकम्पहरूले, मेरा जीवनका अक्करहरूमा, बेग्लाबेग्लै कालखण्डहरूमा दुई चमेलीहरू ठोक्किन आइपुगेका थिए, थिए भनौं ती अझै मसँग छाया झैँ हिंडिरहेका छन्, छन् भनौं तीनका भौतिक शरीर वर्तमानमा यो जगतमा छैन।
