इप्पानको २४औँ साधारण सभा : मोहनकुमार डाँगी स्वत: अध्यक्ष, अरू पदमा लामा र खतिवडाको प्यानलै प्रतिस्पर्धामा
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभा तथा अधिवेशन शुक्रबार काठमाडौँमा हुँदैछ। संस्थाको विधानबमोजिम हाल वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी अब स्वत: अध्यक्ष हुँदैछन्। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडाले उम्मेदवारी दिएका छन्। भ्लोन अहिलेको कार्यसमितिको उपाध्यक्ष हुन् भने खतिवडा महासचिव हुन् । भ्लोनको पक्षबाट उपाध्यक्षमा सुसन कर्माचार्य, विक्रम विष्ट, हिम प्रसाद पाठक, उत्तर कुमार श्रेष्ठ र नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी दिएका छन् । त्यस्तै, खतिवडाको समूहबाट भरतप्रसाद नेपाल, भरतबहादुर खत्री छन् । त्यस्तै, खतिवडा समूहले पन्त र पाठकलाई आफ्नो उम्मेदवार रहेको बताएका छन् । महासचिवमा भ्लोनको समूहबाट टेकनाथ आचार्य र खतिवडाको तर्फबाट प्रकाशचन्द्र दुलाल छन् । उपमहासचिवमा एक जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा भ्लोन समूहबाट कविता पोख्रेलले उम्मेदवारी दिएकी छन्। खतिवडा समूहले पनि पोख्रेललाई नै समर्थन गरेको छ। कार्यसमितिमा ५ जना सचिव हुने व्यवस्था छ । सचिवमा भ्लोन समूहबाट अभिज्ञा मल्ल, इशा श्रेष्ठ, सुमन कुमारी जोशी, कुवेर मणी नेपाल, विजय मोहन भट्टराई उम्मेदवार छन् भने खतिवडाको समूहबाट कृष्णप्रसाद घिमिरे र विरेन्द्र बहादुर मल्लले उम्मेदवारी दर्ता गरे पनि अन्तिम उम्मेदवारी सूचीमा परेका छैनन् । खतिवडा समूहले पनि इशा श्रेष्ठ, सुमन कुमारी जोशीलाई आफ्नो उम्मेद्वार भनेका छन् । कोषाध्यक्षमा एक पदका लागि भ्लोनको टिमबाट शंकर बस्याल र खतिवडाको समूहबाट मिथुल चक्रवर्ती प्रसाद पौडेल छन् । कार्यसमिति सदस्य ७ जना हुनेछ । त्यसमा भ्लोन समूहबाट सदस्यहरुमा अनुप आचार्य, कदम केसी, जगत बहादुर पोखरेल, बर्णन लामिछाने, बाबुराम थापा छन् भने खतिवडाबाट इन्दिरा पन्त, जगदिश सिवाकोटी, नारायण कंडेल, प्रदिप ओली, भुषण गुरागाई, मिलन खड्का, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कंडेल छन् । महिला सदस्य ३ जना हुने व्यवस्था छ । त्यसमा भ्लोनबाट प्रतिमा ज्ञवाली छिन् । खतिवडाबाट ज्योती गैरे, संगिता धमला र सिर्जना खड्का छिन् । यद्यपि गैरेले आफूलाइ दुवै तर्फको स्वतन्त्र सदस्य रहेको दाबी गरेकी छिन् ।
