SHARE
Samata Press · शनिबार २७ असार २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

गणेश नेपालीलाई न्याय नदिए देशव्यापी आन्दोलन गर्ने नेपाल दलित मोर्चाको चेतावनी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल दलित मोर्चा केन्द्रीय समितिले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्म दाहपछिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिवार संयोजक दलजित श्रीपालीले जारी गरेको प्रेस वक्तव्यमा कर्णाली प्रदेशको मुगु जिल्ला सोरूँ गाउँपालिका स्थायी घर भई काठमाडौँमा बाइक राइडरका रूपमा कार्यरत गणेश नेपालीको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ । मोर्चाले दिवङ्गत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । मोर्चाले दलितप्रति क्षमा याचना, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगेको वर्तमान सरकारको गरिब मारा र असंवेदनशील कार्यशैलीकै कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको आरोप लगाएको छ । यस्तै सरकारी रवैयाका कारण हालसम्म चार जना सुकुम्वासीले आत्महत्याजस्तो आत्मघाती निर्णय लिन बाध्य भएको तथा सयौँ नागरिक मानसिक तनाव र डिप्रेसनको सिकार बनेको दाबी पनि वक्तव्यमा गरिएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकको बाँच्न पाउने मौलिक अधिकारको पूर्ण सम्मान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै मोर्चाले गणेश नेपालीको मृत्युबारे सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा नल्याइए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।