SHARE
Samata Press · शनिबार २७ असार २०८३ ११:२१ PM · 1 मिनेट पढाइ

केशव निमेषको नयाँ कविता सङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ सार्वजनिक

काठमाडौँ । कवि केशव निमेषको नयाँ कविता सङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ शनिवार काठमाडौँमा आयोजित विशेष समारोहबिच सार्वजनिक गरिएको छ । शिखा बुक्सबाट प्रकाशित कृतिको विमोचन साहित्य, राजनीति तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थितिमा गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले ‘मृत्युगञ्जको मौनता’ समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र समयको गहिरो बेचैनीलाई कवितामार्फत सशक्त रूपमा अभिव्यक्त गर्ने कृति भएको बताए । उनले निमेषका कविताले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको उल्लेख गर्दै यसले समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले कविता सङ्ग्रहले समाजमा दबिएका आवाज, मौन बनाइएका जीवन र सीमान्तकृत समुदायका अनुभूतिलाई संवेदनशील रूपमा अभिव्यक्त गरेको धारणा राखिन् । साहित्य केवल सौन्दर्य बोधको विषय नभई सामाजिक रूपान्तरणको प्रभावकारी माध्यम पनि भएको उल्लेख गर्दै उनले निमेषका कविताले पाठकलाई सोच्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने बताइन् । प्रतिनिधिसभाका सांसद सुरेशकुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले पनि कृतिमाथि समीक्षा गर्दै साहित्यले समाजलाई मानवीय, संवेदनशील र लोकतान्त्रिक चेतनातर्फ डोर्‍याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनीहरूले ‘मृत्युगञ्जको मौनता’ले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी रूपमा उजागर गरेको धारणा व्यक्त गरे । कार्यक्रमको प्रारम्भमा शिखा बुक्सका प्रकाशक पुष्पराज शर्माले स्वागत मन्तव्य राख्दै गुणस्तरीय नेपाली साहित्यको प्रवर्द्धनका लागि लेखक, पाठक र प्रकाशकबिच सहकार्य आवश्यक रहेको बताए। उनले उत्कृष्ट साहित्यलाई पाठकमाझ पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रमको अन्त्यमा कवि केशव निमेषले आफ्नो लेखन यात्राका अनुभव सुनाउँदै कविता आफ्नो समय, समाज र मानिससँगको निरन्तर संवाद भएको बताए । उनले ‘मृत्युगञ्जको मौनता’ व्यक्तिगत अनुभूतिभन्दा पनि समाजका असङ्ख्य मौन आवाजको प्रतिनिधित्व गर्ने प्रयास भएको उल्लेख गर्दै पाठकबाट प्राप्त हुने प्रतिक्रियाले आगामी सिर्जना यात्रालाई थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।