SHARE
Samata Press · शनिबार २७ असार २०८३ ०८:०२ PM · 1 मिनेट पढाइ

‘चिरञ्जीवी भव:’को सेटबाट सामाजिक सञ्जालसम्म: काजल कर्णको आरोपले उठाएको विभेद, श्रम र सम्मानको बहस

काठमाडौँ । नेपाली चलचित्र उद्योगमा कहिलेकाहीँ कुनै फिल्म प्रदर्शनअघि नै चर्चाको केन्द्रमा पुग्छ । तर त्यो चर्चा कथावस्तु, कलाकारको अभिनय वा गीत-सङ्गीतका कारण होइन, सुटिङ सेटभित्र भएको भनिएको व्यवहार, कलाकारको आत्मसम्मान, श्रमको मूल्य र पहिचानसँग जोडिएका गम्भीर प्रश्नका कारण पनि हुन सक्छ । यति बेला निर्देशक दीपकप्रसाद आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भव:’ त्यही कारणले सार्वजनिक बहसको केन्द्र बनेको छ । चलचित्र प्रदर्शन हुनुअघि नै कलाकार काजल कर्णले आफ्नो फेसबुकमार्फत लामो स्ट्याटस लेख्दै आफूमाथि सुटिङ सेटमा विभेद, अपमान, पारिश्रमिकमा अन्याय र व्यावसायिक दुर्व्यवहार भएको आरोप लगाएपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएकाे छ । उनको स्ट्याटस सार्वजनिक भएको केही घण्टामै फिल्मकर्मी, कलाकार, सामाजिक अभियन्ता र आम प्रयोगकर्ताले आफ्ना धारणा राख्न राखिरहेका छन् । कसैले काजलको साहसको प्रशंसा गरेका छन् भने कसैले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिरहेका छन् । निर्देशक आचार्यले भने आरोप अस्वीकार गर्दै आफ्ना तर्फबाट स्पष्टीकरण सार्वजनिक गरेका छन् । अब यो विवाद केवल एक कलाकार र एक निर्देशकबीचको मतभेदमा सीमित रहेन । यसले नेपाली चलचित्र उद्योगको कार्य संस्कृति, कलाकारप्रतिको व्यवहार, पारिश्रमिकको पारदर्शिता, शक्ति सम्बन्ध,  भाैगाेलिक पहिचान र कार्यस्थलमा हुने सम्भावित विभेदजस्ता प्रश्नलाई फेरि सार्वजनिक बहसमा ल्याइदिएकाे छ । कलाकार काजल कर्णले आफ्नो स्ट्याटसमा मधेसबाट अभिनयको सपना बोकेर नेपाली फिल्मसम्म पुगेको यात्राको चर्चा गर्दै ‘चिरञ्जीवी भव:’को सेटमा आफूले कलाकारभन्दा बढी अपमानित व्यक्तिको अनुभूति गरेको दाबी गरेकी छन् । उनले मेकअप रुमदेखि सुटिङ सेटसम्म आफूलाई ‘मधेसी’ भनेर होच्याइएको, आफ्नो रङ र पहिचानलाई लिएर उपहास गरिएको, स्क्रिप्टमा नभएका दृश्य गराउन खोजिएको, पारिश्रमिक दिन ढिलाइ गरिएको र अन्ततः जानकारी नै नदिई आफूलाई अर्को कलाकारबाट प्रतिस्थापन गरिएको आरोप लगाएकी छन् । उनको दाबीअनुसार, यी घटनाले केवल एउटा भूमिका मात्र होइन, आफ्नो आत्मसम्मान र पहिचानमाथि चोट पुर्‍याएको महसुस गराएकाे छ ।